जीतपुरसिमराको नगर अधिवेशनः एक विधेयक र तीन कार्यविधि पारित


eShilalekh

३० पुष २०८२, बुधबार १८:३६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको १३औं नगर अधिवेशन बुधबार सम्पन्न भएको छ । सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले एक विधेयक र तीन समितिको कार्यविधि पारित गरेको हो ।

अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८२, सुशासन समिति गठन र सञ्चालन कार्यविधि २०८२ र लेखा समिति गठन र सञ्चालन कार्यविधि २०८२ पारित गरेको हो ।

नगर प्रमुख राजन पौडेलले सभामा प्रस्तुत गरेको विधेयक र कार्यविधि पारितको प्रस्तावलाई नगरसभा सदस्यले अनुमोदन गरेका थिए । विधेयक र कार्यविधि पारित भएलगत्तै नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले समितिका संयोजक र सदस्यको नामावली सभामा प्रस्तुत गरेका थिए ।

विधायन समितिको संयोजकमा इन्दल हजरा, सदस्यमा नविन मैनाली, गरिब महतो र सुरेश यादव चयन भएका छन् । यसैगरी सुशासन समितिमा सुशिलादेवी थरुनी संयोजक तथा नुरुल्लाह अंसारी, दीपेन्द्र चौधरी र राकेश सुब्बा सदस्य छन् । यस्तै लेखा समितिमा विशाल घिमिरे संयोजक, मोहन लिम्बु, गंगा पटेल, ईश्वर चौधरी सदस्य छन् । उपप्रमुखद्वारा प्रस्तावित समितिका संयोजक र सदस्यको नामावली सभाले पारित गरेको छ ।

नगर प्रमुख पौडेलले विधेयक र कार्यविधि पारित भएको जानकारी गराउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी समेत सुरु भएको बताए । उनले बजेट निर्माणका लागि वडास्तरमा छलफल चलाउन समेत नगरसभा सदस्यलाई आग्रह गरे ।

नगरसभाको उद्घाटन समारोहमा जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेल, जीतपुरसिमरा १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जीतपुरसिमरा १० का वडाध्यक्ष सञ्जय पटेल, जीतपुरसिमरा ९ का वडाध्यक्ष मोतीलाल कुशवाहाले शुभकामना मन्तव्य राखेका थिए ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा नगर अधिवेशन सम्पन्न भएको हो । सभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलगायत उपस्थित थिए । सभामा रेखा श्रेष्ठले दोभाषेको भूमिका निभाएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्