कलैयाबाट प्रकाशित हुने ज्ञान खबरले मनायो पहिलो वार्षिकोत्सव


eShilalekh

३ माघ २०८२, शनिबार १६:२८

कलैयाः कलैयाबाट प्रकाशित हुने ज्ञान खबर दैनिकले प्रकाशनको पहिलो वर्ष पूरा गरेको छ । विश्व ज्ञान मिडियाद्धारा प्रकाशित पत्रिका शुक्रबारदेखि दोस्रो वर्षमा प्रवेश गरेको हो ।

प्रकाशनको दोस्रो वर्ष प्रवेश गरेको अवसरमा पत्रिकाले कलैयामा वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । प्रेस चौतारी नेपाल मधेश प्रदेशका महासचिव दिवाकर भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महासचिव भण्डारीले पत्रिकाले आगामी दिनमा अझ जिम्मेवार पत्रकारिताको नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पानालाल दासले पत्रिकाले पाठकको विश्वास जित्न सफल भएको भन्दै प्रशंसा गरेका छन् । उनले स्थानीय समस्या नागरिक सरोकार र सामाजिक उत्तरदायित्वसँग जोडिएका विषयमा थप ध्यान दिन सुझावसमेत दिएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेले प्रदेशस्तरमा सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा पत्रिकाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले सञ्चार क्षेत्रमा नयाँ आयाम थप्न सफल भएको उल्लेख गर्दै सम्पादकीय टिमलाई पेशागत निष्ठा र इमान्दारिताका साथ निरन्तर अघि बढ्न शुभकामना दिए ।

कार्यक्रममा मधेस प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरव, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, मेवालाल पटेललगायतको उपस्थिती रहेको थियो ।

पत्रिकाका व्यवस्थापक तथा सहसम्पादक जिउतप्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पत्रिकाका सम्पादक भोलानाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्