बारा क्षेत्र नं. ३ बाट रास्वपाका अरविन्द साहले गरे उम्मेदवारी दर्ता

सिमरा: बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साहले आफ्नो मनोनयन दर्ता गराएका छन्।
साह खल्तीका सह–संस्थापक हुन्। मनोनयन दर्ताको क्रममा उनले परिणाममुखी राजनीति, ग्रामीण विकास र डिजिटल रूपान्तरणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।
साहले गाउँको सामुदायिक विद्यालयमा पढेर हुर्किएको र किसान परिवारको पृष्ठभूमिबाट आएको अनुभव साझा गर्दै, ग्रामीण क्षेत्रका नागरिकले भोग्दै आएको अवसरको अभाव र राज्यको कमजोर उपस्थितिलाई नजिकबाट अनुभूत गरेको बताए।
उनले आफ्नो अनुभवलाई आधार बनाएर प्रविधिलाई रोजगारी, सेवा प्रवाह र आर्थिक विकाससँग जोड्ने एजेन्डा संसदमा उठाउने योजना रहेको पनि जानकारी दिए।
मनोनयन दर्ता कार्यक्रममा वक्ताहरूले साहजस्ता नतिजामुखी सोच, व्यवस्थापन क्षमता र आधुनिक दृष्टिकोण बोकेका उम्मेदवारको उपस्थितिले बारा ३ मा वैकल्पिक राजनीतिलाई मजबुत बनाउने विश्वास व्यक्त गरे।





