रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


eShilalekh

९ माघ २०८२, शुक्रबार १५:०७

रौतहटः रौतहटमा शुक्रबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटको दुर्गाभगवती गाउँपालिका २ पिपरा बजारका ३० वर्षीय अशोक महतो र राजदेवी नगरपालिका २ हजमिनियाका २९ वर्षीय अरबिन्द महतो रहेका छन्।

राजदेवी नगरपालिका १ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडकखण्डमा भएको दुर्घटनामा दुबै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र–२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० एएफ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर उपचारका क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्