जीतपुरमा अनेम संघको क्षेत्रीय बैठक सम्पन्न, घिमिरेको नेतृत्वमा पाँच सय सदस्यीय कमिटी गठन

सिमराः प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ बारा क्षेत्र नं. ४ को क्षेत्रीय विस्तारित बैठक शुक्रबार जीतपुरमा सम्पन्न भएको छ ।
बैठकले क्षेत्रीय अध्यक्ष कमला घिमिरेको संयोजकत्वमा पाँच सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीमा क्षेत्र, नगर, गाउँ, वडा र टोलका महिलाहरु सहभागी छन् ।
यसअघि बैठकलाई बारा क्षेत्र नं. ४ का एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले महिलाहरुको उत्साहजनक सहभागिताले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाएको बताए ।

उम्मेदवार श्रेष्ठले आफूले २०७९ सालमा यसै क्षेत्रबाट निर्वाचित भएर सबै वर्ग, क्षेत्र, समुदायको आवाज सडकदेखि सदनसम्म उठाएको बताए । उनले आफूले आफ्नो क्षेत्रका नागरिकको अधिकार सुनश्चित गर्न सधै लागिपरेको बताए ।
बैठकमा एमाले पूर्वकेन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, एमाले प्रदेश कमिटी सदस्य सीता गुरुङ, सुभद्रा न्यौपाने, अमर यादव, एमाले क्षेत्रीय संयोजक ध्रुव यादव, एमाले जिल्ला सचिवालय सदस्य गिता घलेलगायतले सम्बोधन गरेका थिए ।
क्षेत्रीय अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण अनिता लम्साल अधिकारीले गरेकी थिईन् ।





