नेपालतर्फ तस्करी हुँदै गरेको डेढ लाख नशालु ट्याब्लेटसहित दुई भारतीय युवक पक्राउ


eShilalekh

१८ माघ २०८२, आईतवार १५:३७

सिमराः भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले शनिबार साँझ नेपालतर्फ ल्याउँदै गरिएको करिब डेढ लाख प्रतिबन्धित नशालु ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला बसतपुर कालोनीका २२ वर्षीय तपस कुमार र सोही स्थानका २२ वर्षीय गुलशन कुमार रहेका छन् ।

एसएसबी ७१ औँ बटालियनको अठमोहनस्थित इन्टेलिजेन्स युनिटबाट प्राप्त विशेष सूचना अनुसार भारतको पूर्वी चम्पारण क्षेत्रबाट नेपाल भित्र्याउन ठूलो परिमाणमा मनोप्रभावी औषधि पठाइएको थियो ।

तस्करहरूले ढाका (पूर्वी चम्पारण) देखि झरोखरसम्म इलेक्ट्रिक अटो रिक्सा प्रयोग गरेका थिए भने सुरक्षाकर्मीको निगरानी छल्न ‘लाइनर’ समेत परिचालन गरिएको खुलेको छ ।

सूचना पाएलगत्तै एसएसबीले झरोखर प्रहरीसँग समन्वय गर्दै संयुक्त अपरेशन अघि बढाएको थियो । कमाण्डेन्टको निर्देशनमा एफ कम्पनी जमुनिया र स्थानीय प्रहरी टोली परिचालन गरिएको थियो ।

भारततर्फको बीपी सीमास्तम्भ नम्बर ३५७/०२ नजिक अमवा गाउँ क्षेत्रमा शंकास्पद इलेक्ट्रिक अटो रिक्सा विआर ०५ आर ए ४४८१ रोकेर जाँच गर्दा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको हो ।

जाँचका क्रममा पाँच कार्टुनमा लुकाएर राखिएको ट्रमाडोल ५० एमजीका चार सय ९५ प्याकेट बरामद गरिएको एसएसबीले जनाएको छ । प्रत्येक प्याकेटमा तीन सय ट्याब्लेटका दरले जम्मा एक लाख ४८ हजार पाँच सय नशालु ट्याब्लेट बरामद भएको हो ।

बरामद औषधिसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ ।

यसैबीच एसएसबी ७१ औँ बटालियनकै अर्को कारबाहीमा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै गरेका एक युवक पक्राउ परेका छन् ।

‘बी’ कम्पनी महुवावा र बिहार प्रहरीको संयुक्त गस्ती टोलीले करिब दुई किलो लागूऔषध गाँजासहित पूर्वी चम्पारण जिल्ला मधुबनजितौरा १५ का २२ वर्षीय कृष्णा कुमारलाई पक्राउ गरेको हो ।

उनलाई सीमास्तम्भ नम्बर ३७६ नजिक धरहरी गाउँ क्षेत्रबाट पक्राउ गरिएको हो । बरामद गाँजा नेपालबाट भारततर्फ लैजान लागिएको आशंका गरिएको छ ।

पक्राउ परेका व्यक्ति र बरामद सामानलाई महुवावा प्रहरी चौकीमा बुझाएर थप अनुसन्धान भइरहेको एसएसबी पिपराकोठीका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्