बारा ४ मा चुनावी प्रचारलाई व्यवस्थित बनाउँदै एमाले


eShilalekh

१८ माघ २०८२, आईतवार १८:३५

सिमराः बारा क्षेत्र नं. ४ मा नेकपा एमालेले चुनावी प्रचार अभियानलाई व्यवस्थित बनाउँदै लगेको छ । माघ ६ गते उत्साहजनक उपस्थितीकाबीच मनोनयन दर्ता गराएको एमालेले त्यसयताको चुनावी प्रचार व्यवस्थित बनाएको हो ।

बारा ४ मा एमालेबाट केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) उम्मेदवार छन् । श्रेष्ठ बारा ४ को निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् ।

श्रेष्ठको चुनावी प्रचारमा जुटेको एमालेले हालसम्म क्षेत्रीय र पालिकास्तरका विस्तारित बैठक सम्पन्न गरिसकेको छ । क्षेत्रीय बैठकले एक हजार एक सदस्यीय परिचालन कमिटी समेत गठन गरेको छ । पालिका तहमा पनि परिचालन कमिटी गठन भएका छन् भने निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ ।

बारा क्षेत्र नं. ४ मा ६ वटा पालिकाको ३८ वटा वडाहरु छन् । जसमा जीतपुरसिमराको १६, परवानीपुरको पाँच, प्रसौनीको सात, बिश्रामपुरको पाँच, फेटाको चार र कलैयाको एउटा वडा यस क्षेत्रमा पर्छन् ।

क्षेत्रभित्रको ३८ वटा वडामा एमालेले अहिले विस्तारित बैठक र वडातहको निर्वाचन परिचालन कार्यालय स्थापना सुरु गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा निर्वाचन परिचालन कार्यालय उद्घाटन भईसकेको छ । यसअघि शनिबार बिहान सिमरामा क्षेत्रीय निर्वाचन परिचालन कार्यालयको उद्घाटन उम्मेदवार श्रेष्ठ आफैले गरेका थिए ।

निर्वाचन आचारसंहितालाई ध्यान दिँदै आफूले नगर क्षेत्रभित्र चुनावी प्रचारलाई व्यवस्थित बनाउँदै लगेको एमाले जीतपुरसिमरा उपमहानगरपालिकाका अध्यक्ष त्रिलोकबिक्रम शाहले बताए । क्षेत्र, पालिका हुँदै बैठक वडातहमा पुगेको बताउँदै शाहले चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारीरुपमा अघि बढेको बताए ।

श्रेष्ठको चुनावी अभियानलाई व्यवस्थित बनाउन क्षेत्रभित्रका एमाले केन्द्रीय सदस्य एकबाल मियाँ, मोबिन आलम, पूर्व केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश सदस्य देवनारायण चौधरी, सीता गुरुङ, अमर यादव, कमलेश झा, दिनेश्वर ठाकुर, जिल्ला उपसचिव भावना आचार्य, क्षेत्रीय अध्यक्ष ध्रुव यादवलगायतका नेताहरु सक्रिय भएर लागेका छन् । उनिहरुकै रणनीति अनुसार एमालेले आफ्नो चुनावी गतिविधिलाई अगाडी बढाईरहेको छ ।

चुनावी अभियानमा एमाले एकजुट देखिएको छ । आफ्नो उम्मेदवारलाई बिजयी गराउन एमालेका नेताकार्यकर्ता उत्साहित देखिन्छन् । विभिन्न जनसंगठन पनि सक्रिय भएर बैठक आयोजना गरिरहेका छन् । युवा संघ नेपालले बृहत् भेला आयोजना गर्ने तयारी गरिरहेको छ । अनेम संघ, मुक्ति समाजको भेला सम्पन्न भईसकेको छ ।

पार्टीका नेताकार्यकर्ताको साथ र समर्थनले उम्मेदवार श्रेष्ठ समेत उत्साहित देखिएका छन् । श्रेष्ठले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावी अभियानलाई थप व्यवस्थित बनाउँदै लैजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्