सीमावर्ती नाकामा लागूऔषध गाँजासहित बाराकी एक महिला पक्राउ


eShilalekh

१९ माघ २०८२, सोमबार १५:०९

सिमरा: नेपाल–भारत सीमावर्ती मटिअर्वा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्ला प्रसौनी गाउँपालिका २ की ३५ वर्षीया आजमा खातुन रहेकी छन्।

‘ऋ’ कम्पनी बेलदरवा मठ, ७१ बटालियन मोतिहारी तथा बिहार प्रहरीको संयुक्त टोलीले विशेष अपरेसन सञ्चालन गरेको थियो। मटिअर्वा पोस्टअन्तर्गत भारततर्फ करिब ५० मिटर दूरीमा पर्ने लाला छपरा गाउँ नजिक अपरेसन केन्द्रित गरिएको थियो।

अपरेसनका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पाँच किलो लागूऔषध गाँजा बरामद गरिएको हो।

बरामद गाँजासहित पक्राउ परेकी खातुनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरी चौकीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्