मतको गोपनीयता भङ्ग गर्ने सामग्री प्रकाशन नगर्न बारा प्रशासनको चेतावनी

सिमराः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय बाराले निर्वाचन आचारसंहिता पालना गर्न कडा निर्देशन जारी गरेको छ ।
प्रशासनले सोमबार (माघ १९ गते) एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत छविराम भट्टराईद्वारा जारी गरिएको सूचनामा पछिल्लो समय फेसबुक र युट्युब जस्ता प्लेटफर्ममा सक्रिय केही अनलाइन सञ्चार माध्यमहरूले सर्वसाधारणलाई ‘कुन दल वा उम्मेदवारलाई मतदान गर्नुहुन्छ?’ भनी प्रश्न सोधेर मतको गोपनीयता भङ्ग गरिरहेको पाइएको उल्लेख गरिएको छ ।
यस्तो कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) को स्पष्ट उल्लंघन गरेको ठहर गर्दै प्रशासनले यसलाई नियन्त्रण गर्न कडा कदम चाल्ने संकेत दिएको हो ।
प्रशासनले कुनै पनि व्यक्ति, समूह वा सञ्चार माध्यमबाट यस प्रकारका गैरकानुनी कार्यहरू भएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कडा कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
आगामी निर्वाचनलाई मर्यादित बनाउन र आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै सरोकारवाला, राजनीतिक दल र सञ्चारकर्मीहरूलाई जिम्मेवार बन्न विशेष अनुरोध समेत गरेको छ ।






