वीरगन्जका विभिन्न सिमा क्षेत्रबाट अवैध सामान बरामद

वीरगन्जः सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोक चेकप्वाइन्टमा जाँच गर्ने क्रममा करिब पाँच लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।
यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वा क्षेत्रसहित विभिन्न सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगन्जबाट खटिएको टोलीले थप अवैध सामानहरू बरामद गरेको छ ।
चेकजाँचका क्रममा भारतबाट विभिन्न सवारी साधनहरूमा लुकाइछिपाई ल्याउँदै गरिएको करिब ६ लाख रुपैयाँ बराबरको कपडा, मोबाइल पाट्र्स, पैसा गन्ने मेसिन, ग्यास पाट्र्स, मोटर पाट्र्सलगायतका सामग्री नियन्त्रणमा लिइएको हो ।
यसैगरी अवैध रूपमा प्रयोग हुँदै आएको करिब चार लाख रुपैयाँ मूल्य बराबरको एउटा अटो रिक्सा समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।





