रौतहटमा रास्वपाका उम्मेदवारको कारले ठक्कर दिँदा बालिकाको मृत्यु

सिमराः रौतहटमा रास्वपा उम्मेदवारको कारको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ। इशनाथ नगरपालिकाको मठियामा भएको दुर्घटनामा चार वर्षीया बालिकाले ज्यान गुमाएकी हुन्।
रौतहट प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार रास्वपाका क्षेत्र नम्बर २ का उम्मेदवार शेख सागिरको बा १५ च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा सागिर मोहम्मदकी छोरी अल्फा खातुनको मृत्यु भएको हो।
प्रहरीका अनुसार बालिका बाटोमा खेलिरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो। गम्भीर घाइते बालिकालाई उपचारका लागि अस्पताल लगिएको भएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त गाडीमा रास्वपाको उम्मेदवारको स्टिकर टाँसिएको भएपनि दुर्घटनाका समयमा उम्मेदवार स्वयम् गाडीमा सवार नभएको प्रहरीले स्पष्ट पारेको छ। उम्मेदवार सगिरको सचिवालयले समेत घटना हुँदा उम्मेदवार गाडीमा नभएको जनाएको छ ।
ठक्कर दिने गाडी नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई छ ।





