उखुबाली अनुसन्धान केन्द्र हाताभित्र मृत भेटिए एक पुरुष


eShilalekh

२३ माघ २०८२, शुक्रबार १८:३९

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको हाताभित्र शुक्रबार एक पुरुष मृत भेटिएका छन् । केन्द्रभित्र रहेको पैनीमा एक पुरुषको शव फेला परेको हो ।

केन्द्रको कार्यालयमा कार्यरत कर्मचारीले पुरुषलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना मुचुल्का गरी शव शल्यपरीक्षणका लागि कलैया अस्पताल पठाएको छ ।

मृत भेटिएका पुरुषको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार शवको अवस्था हेर्दा ४–५ दिन अघिनै उनको मृत्यु भएको हो ।

उनको पैनीको पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । मृतकको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनी कसरी केन्द्रको हाताभित्र प्रवेश गरे भन्ने समेत खुल्न सकेको छैन ।

केन्द्रमा कार्यरत सुरक्षागार्डका अनुसार तीन पुरुष वरपरकै उद्योगमा काम गर्ने गरेका थिए । सुरक्षागार्डका अनुसार उनी केन्द्रको अगाडीकै बाटोबाट आउने जाने गर्थे ।

एक महिला केही दिनदेखि आफ्नो श्रीमान् घर नआएको भन्दै खोजी गर्दै हिडिरहेकी थिईन् । ती महिलाले केन्द्रका सुरक्षागार्डलाई समेत आफ्नो श्रीमानको विषयमा सोध्ने गरेकी थिईन् । मृत भेटिएका पुरुष ती महिलाकै श्रीमान् रहेनरहेको खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्