वीरगन्जको आदर्शनगरस्थित गोदाममा छापा मार्ने क्रममा झडपः एक सशस्त्र प्रहरी घाइते

वीरगन्जः वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा सशस्त्र प्रहरी र भन्सार टोलीले छापा मार्ने क्रममा तनाव उत्पन्न भएको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध प्रदर्शन गरेका थिए ।
सो क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् भने सुरक्षाकर्मीको गाडीमा समेत क्षति पुगेको छ ।
व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै प्रशासनले विनाकारण दुःख दिएको आरोप लगाएका छन् । आन्दोलित पक्षबाट भएको ढुङ्गामुढाका कारण सशस्त्र प्रहरीको गाडीको अगाडिको सिसा फुटेको छ । घाइते सुरक्षाकर्मीको हाल स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिइएको छ ।
हाल बरामद सामानको लगत संकलन, मुचुल्का उठाउने कार्य र गोदामको स्वामित्वबारे थप अनुसन्धान भइरहेको छ ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।





