रौतहटमा खेतको घाँस काट्ने विवादमा कुटपिट, तीन महिला घाइते


eShilalekh

२७ माघ २०८२, मंगलवार १४:१२

रौतहटः रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत खेतमा घाँस काट्ने विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा तीन महिला गम्भीर घाइते भएका छन् । सोमबार राति भएको सामूहिक आक्रमणमा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घाइते हुनेहरूमा वडा नं ५ टिकुलिया गाउँका महेश तिवारीकी २५ वर्षीया छोरी अस्मिता तिवारी, १५ वर्षीया छोरी सुस्मिता तिवारी तथा छिमेकी बचेलाल मुखिया बिनकी ४० वर्षीया श्रीमती अनतिया बिन रहेको पीडित पक्षले जनाएको छ ।

महेश तिवारीका भतिज राजेश तिवारीका अनुसार अनतिया बिनको टाउकोमा गहिरो चोट लागेको छ भने अस्मिता र सुस्मिताको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

घटनालगत्तै घाइते तीनैजनालाई राति नै एम्बुलेन्समार्फत उपचारका लागि बाराको कलैयास्थित ए प्लस अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनीहरूलाई आईसीयूमा राखेर उपचार भइरहेको र हाल अवस्था सामान्य हुँदै गएको छ ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय शङ्कर राय यादवका ४० वर्षीय छोरा शम्भु राय यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले जनाएका छन् ।

प्राप्त विवरण अनुसार महेश तिवारीको तोरीको खेतमा आइतबार शङ्कर राय यादवको घरका महिलाहरूले घाँस काटेका थिए । तोरी पाक्ने समयमा घाँस काट्दा क्षति पुगेको भन्दै सोमबार साँझ अस्मिता तिवारीले शङ्कर रायसँग गुनासो गरेपछि भनाभन भएको र सोही विवादले पछि हिंसात्मक रूप लिएको बताइएको छ ।

विवादपछि शङ्कर राय यादव, उनका छोरा शम्भु यादव तथा घरका महिलाहरू समेत तिवारीको घरभित्र पसेर फलामको रड लगायतका हतियार प्रयोग गरी अस्मिता र सुस्मितामाथि कुटपिट गरेका थिए ।

कुटपिट छुटाउन गएकी छिमेकी अनतिया बिनमाथि पनि गम्भीर आक्रमण गरिएको पीडित पक्षको आरोप छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्