रौटहटमा नक्कली नोटसहित दुईजना पक्राउ

रौतहटः रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वृन्दावन २ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका १ का ३० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। प्रहरीले उनीहरूलाई नेपाली एक हजार दरका १४ थान नक्कली नोटसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पसल सञ्चालकले दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।
त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा पटेलको खल्तीबाट एक हजार दरका १२ थान र यादवले मोबाइल कभरभित्र लुकाएर राखेको एक हजार दरका दुई थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





