वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ


eShilalekh

१ फाल्गुन २०८२, शुक्रबार २०:०१

सिमराः वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । माघ २६ गते वीरगन्जको आदर्शनगरमा भएको आक्रमणमा संलग्नमध्ये ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १० घडिहर्वाका ४६ वर्षीय प्रमोदकुमार कानु, २० वर्षीय कुञ्जन सर्राफ, वीरगन्ज १ छपकैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, विन्दाबासिनी गाउँपालिका ५ का ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह, भारत मोतिहारीका ४० वर्षीय प्रभु महतो, भारत भागलपुरका ३५ वर्षीय प्रितमकुमार चौधरी रहेका छन् ।

प्रहरीले उनिहरुलाई विभिन्न मितिमा पक्राउ गरेको हो । उनिहरुमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित मदन गुप्ताको गोदाममा भन्सार छलीका सामान भण्डारण गरी राखिएको सूचना पाएपछि सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर वीरगन्ज १३ नम्बर गण र भन्सार कार्यालयका तथ्यांक अधिकृतसहित पुगेको टोलीमाथि आक्रमण भएको थियो । उनिहरुले सशस्त्र प्रहरीको गाडीमा क्षति पुर्याएका थिए ।

आफूहरुमाथि आक्रमण हुन थालेपछि सशस्त्र प्रहरीले त्यहाँबाट भागेर ज्यान जोगाएका थिए । सशस्त्र प्रहरीमाथि निर्मम तरिकाले भएको कुटपिटको उक्त दृश्य सामाजिक संजालमा समेत फैलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्