रौतहटमा श्रीमतीको हत्या गरी श्रीमान् फरार

रौटहटः रौतहटमा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरी फरार भएका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका ६ पेटभरवाका ४५ वर्षीय महन्थ राय यादवले आफ्नै ३५ वर्षीया श्रीमती आरतीदेवी यादवको हत्या गरी फरार भएका हुन् ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको बञ्चरो र दाउ बरामद गरेको हो । आरतीको टाउको र घाँटीमा बञ्चरो तथा दाउ प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
होटल व्यवसाय सञ्चालन गर्दै आएका महन्थ र विभिन्न स्थानमा कामको सिलसिलामा बाहिर बस्दै आएकी आरतीबीच विगत केही वर्षदेखि नै सम्बन्ध सुमधुर थिएन । करिब डेढ वर्षपछि पाँच दिनअघि मात्र घर फर्किएकी आरतीको शनिबार राति सुतिरहेकै अवस्थामा हत्या गरिएको प्रहरीको अनुमान छ ।
आइतबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । जनप्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको टोलीले ढोका खोल्दा आरती आफ्नै ओछ्यानमा मृत फेला परेकी थिइन् ।
घटनापछि फरार रहेका महन्थले वडा अध्यक्ष राम एकवाल यादवसँगको फोन सम्पर्कमा श्रीमतीको चरित्रमाथि शंका गर्दै आफूले हत्या गरेको स्वीकारेका छन् । उनले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताए तापनि हालसम्म उनी फरार नै रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सीताराम रिजालका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।





