पर्साबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जना पक्राउ

सिमराः सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट एक सय ६० किलो गाँजासहित कार चालक बुद्धिलाल घलानलाई प्रहरीले पक्राउ गरेको हो ।
पकहाँमैनपुर गाउँपालिकाको मधुवनी चोकतर्फ गइरहेको प्र ३–०१–००२ च ५४३२ नम्बरको सुजुकी स्विफ्ट कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीका अनुसार चालक घलानले कारको डिक्कीबाट प्याकिङ गरिएको गाँजा फ्याँक्ने प्रयास गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले चालक घलानको साथबाट २२ हजार पाँच सय रुपैयाँ नगद र एउटा मोबाइल समेत बरामद गरेको छ ।
बरामद गाँजा तथा कारसहित पक्राउ परेका घलानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको एसपी क्षेत्रीले जानकारी दिए ।





