बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रचार–प्रसारका लागि सवारी अनुमति प्रक्रिया अनिवार्य

सिमराः बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रचार–प्रसारका क्रममा प्रयोग गरिने सवारी साधनका लागि अनुमति लिन अनिवार्य गरिएको छ।
निर्वाचन अधिकृत किरणकुमार सिंहले निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेका हुन्।
उनका अनुसार प्रचारका लागि प्रयोग गरिने कुनै पनि सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्न पाइनेछ। अनुमति नलिई सञ्चालन गरिएका सवारी साधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सक्ने चेतावनी समेत दिइएको छ।
निर्वाचन आचारसंहिता २०८२ ले तोकेका मापदण्डभित्र रही मात्र प्रचार–प्रसार गर्न र नियम उल्लंघन नगर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ। साथै, प्रचार सामग्री र कार्यक्रम सञ्चालन गर्दा समेत कानुनअनुसार अघि बढ्न निर्वाचन कार्यालयले स्पष्ट पारेको छ।





