बाराको करैयामाई र देवतालमा ‘बालविवाहमुक्त नेपाल’ सयदिने अभियान तीव्र

सिमराः करैयामाई गाउँपालिका र देवताल गाउँपालिकामा बालविवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाहमुक्त नेपाल’ सयदिने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।
Just Rights for Children को सहयोग तथा जनजागरण युवा क्लब बाराको सक्रियतामा सञ्चालित उक्त अभियान दुवै पालिकासँग समन्वय गर्दै अघि बढाइएको हो।
अभियान अन्तर्गत दुवै पालिकाका सबै विद्यालय, महिला समूह, कृषक समूह, सहकारी संस्था, महिला स्वयंसेविका, थारु तथा अन्य महोत्सवजस्ता सार्वजनिक कार्यक्रमहरू, साथै पालिकाका कार्यपालिका सदस्य र विभिन्न शाखाहरूमा पुगेर ‘बालविवाहमुक्त नेपाल’ घोषणा गर्ने प्रतिबद्धता संकलन गरिँदै आएको छ।
सयदिने अभियानअन्तर्गत हालसम्म यी दुवै पालिकामा करिब २० हजारभन्दा बढी महिला, पुरुष तथा छात्र–छात्रालाई बालविवाह नगर्ने र नगराउने सामूहिक प्रतिज्ञा गराइएको अभियानका स्वयंसेवक बिनोद प्रसाद रामले जानकारी दिए।
समुदायस्तरमै व्यापक सहभागिता सुनिश्चित गर्दै बालविवाहविरुद्ध सचेतना अभिवृद्धि र सामूहिक प्रतिबद्धता सुदृढ पार्ने कार्यलाई प्राथमिकता दिइएको स्वयंसेवक रामले बताए। उनका अनुसार अभियानमार्फत स्थानीय तहमा दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने लक्ष्य राखिएको छ।
नेपालमा कानुनी रूपमा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको भए पनि विशेषगरी तराई मधेश क्षेत्रमा व्यवहारमा १८ वर्षभन्दा पहिले विवाह हुने क्रम अझै कायम रहेको पाइएको छ।





