सर्लाहीमा निर्वाचन लक्षित गर्दै अत्यावश्यक कामबाहेक कर्मचारीलाई बिदा नदिने निर्णय


eShilalekh

६ फाल्गुन २०८२, बुधबार १४:३४

सिमराः जिल्ला प्रशासन कार्यालय मलङ्गवामा मंगलबार बसेको कार्यालय प्रमुखहरूको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अत्यावश्यक काम बाहेक कर्मचारीलाई बिदा नदिने निर्णय गरेको छ।

निर्वाचन सम्पन्न नहुँदासम्म सबै कर्मचारीलाई जिम्मेवारीप्रति गम्भीर र सक्रिय रहन निर्देशन दिइएको हो।

बैठकले निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटाइने राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएको छ। यसअनुसार सर्लाही जिल्लाका ६२८ मतदान केन्द्रमा तीन हजार सात सय ६८ कर्मचारी खटाइने तयारी गरिएको प्रशासनले जनाएको छ।

निर्वाचन प्रयोजनका लागि आवश्यक सवारी साधनको व्यवस्था समेत कार्यालयमार्फत मिलाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार कर्मचारीहरूले सेवा प्रवाहका क्रममा कुनै असुरक्षा महसुस गरेमा तत्काल प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैबीच बैठकले पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ। घटनाले जिल्लामा सुरक्षा सतर्कता अझ बढाइएको प्रशासनले जनाएको छ।

फागुन २१ को निर्वाचन आउन अब दुई साता मात्र बाँकी रहँदा जिल्लामा तयारी र समन्वयका कामहरू तीव्र बनाइएको प्रशासनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्