सहिद हिरालाल गौतमलाई नमन गर्दै बारा-१ मा अच्युत मैनालीको चुनावी अभियान सुरु

निजगढः बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अच्युत प्रसाद मैनालीले बुधबार बिहान निजगढबाट आफ्नो चुनावी घरदैलो अभियानको औपचारिक शुभारम्भ गरेका छन् ।
मैनालीले निजगढ नगरपालिका ४ स्थित सहिद हिरालाल गौतमको सालिकमा माल्यार्पण गरी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अभियानको सुरुवात गरेका हुन् ।
सालिकमा माल्यार्पण गरेपश्चात् मैनालीले निजगढ नगरपालिका वडा नं १ को सिङ्गोल नमुना बस्ती चोकबाट घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
अभियानका क्रममा उम्मेदवार मैनालीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका आगामी नीति, विकासका एजेन्डा र प्रतिबद्धताहरूबारे जानकारी गराएका छन् ।
नेकपा एमाले निजगढ निर्वाचन परिचालन कमिटीका संयोजक सुदर्शन प्रसाद कोईरालाका अनुसार घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
सहिदको सम्मानबाट सुरु गरिएको यस अभियानले क्षेत्रमा चुनावी माहोललाई थप उत्साहजनक र सक्रिय बनाएको सहभागीहरूले बताएका छन् ।





