सर्लाहीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु


eShilalekh

७ फाल्गुन २०८२, बिहीबार १०:५९

सिमरा: सर्लाहीको बाँके-संग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका १३ स्थित ईश्वरपुर र हरिपूर्वा नगरपालिकाको सीमाक्षेत्रमा बेलुका करिब ८ बजे दुर्घटना भएको हो। दुर्घटनामा हरिपूर्वा नगरपालिका ९ मर्चिया गाउँका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी चौकी गौरीशंकरमा भारतीय नम्बर प्लेटका तीन मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा रहेको जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकल फेला परेको प्रहरी प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए।

गम्भीर घाइते अवस्थामा रहेका मुकेश र रामज्ञानलाई प्रहरीले उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका डिएसपी राईले बताए।

दुर्घटनामा सामान्य घाइते हरिपूर्वा ९ का २२ वर्षीय विक्रम राय र ४२ वर्षीय रामविश्वास रायलाई मोडेल अस्पताल लालबन्दीमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक दुवै युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। दुर्घटनाको विषयमा बिहीबार बिहानदेखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्