सिमरामा नेपाल स्वास्थ्य शिक्षा संघको १८ औँ साधारण सभा तथा प्रथम मधेश प्रदेश सम्मेलन सम्पन्न

सिमराः नेपाल स्वास्थ्य शिक्षा संघको १८ औँ वार्षिक साधारण सभा, राष्ट्रिय गोष्ठी तथा प्रथम मधेश प्रदेश सम्मेलन बाराको सिमरामा भव्य रूपमा सम्पन्न भएको छ ।
सिमरा कलेजमा स्वास्थ्य शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न प्रदेश र जिल्लाका सहभागीहरूको उपस्थितिमा क्रार्यक्रम सम्पन्न भएको हो ।
मधेश प्रदेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष डा.कमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, बागमती विश्वविद्यालयका उपकुलपति डा. कुशुमराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनको मुख्य आकर्षणका रूपमा स्वास्थ्य शिक्षासम्बन्धी समसामयिक विषयमा केन्द्रित प्यानल डिस्कसन आयोजना गरिएको थियो । उक्त छलफलमा विज्ञहरूले विद्यालय तहदेखि उच्च शिक्षासम्म स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन नीतिगत सुधार र पाठ्यक्रम परिमार्जनको आवश्यकता औँल्याएका थिए ।
सहभागीहरूले सरकारले स्वास्थ्य विषयका शिक्षकहरूको स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने, नियमित तालिमको व्यवस्था गर्नुपर्ने र विद्यालय स्तरमा यो विषयलाई अनिवार्य तथा व्यवहारिक बनाउनुपर्नेमा विशेष जोड दिएका थिए । किशोर–किशोरीमा देखिने सरसफाइ, पोषण र मानसिक स्वास्थ्यका समस्या समाधानका लागि राज्यले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा विज्ञहरूले व्यक्त गरे ।
यसैगरी सभामा संघको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो ।संघका पदाधिकारीहरूले संगठन विस्तार र प्रदेश संरचनाको सुदृढीकरण गर्दै स्वास्थ्य शिक्षालाई राष्ट्रिय नीतिमा सशक्त रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।
यसै सम्मेलनको अवसरमा पहिलो पटक मधेश प्रदेशस्तरीय कार्यसमिति समेत गठन गरिएको छ ।





