बारामा आगामी निर्वाचनका लागि नमुना मतदान सम्पन्न


eShilalekh

७ फाल्गुन २०८२, बिहीबार १७:०९

सिमराः आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी बाराको कलैयामा बिहीबार नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा निर्वाचनका दिन अपनाइने प्रक्रियाको प्रयोगात्मक अभ्यास गरिएको हो।

निर्वाचनमा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्ने र मतदातालाई मतदानको सही विधिबारे जानकारी गराउने उद्देश्यले आयोजित यस कार्यक्रममा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो।

नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष र ज्येष्ठ नागरिक तथा अशक्तका लागि तीनवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो। कार्यक्रममा मतदान अधिकृत र कर्मचारीहरूले मतपत्रमा सही तरिकाले छाप लगाउने, मतपेटिकामा खसाल्ने र मतदानका क्रममा हुनसक्ने सम्भावित विवाद व्यवस्थापनबारे अभ्यास गराएका थिए।

उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको उपस्थिति रहेको थियो।

यसैगरी सशस्त्र प्रहरी बलका गणपति विशाल सिलवाल, नेपाली सेनाका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवीन चौधरी सहित सुरक्षा निकायका प्रमुखहरू र निर्वाचन अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्