सर्लाहीमा फेला परेको बेवारिसे पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते


eShilalekh

७ फाल्गुन २०८२, बिहीबार १७:३८

सर्लाही: सर्लाहीको सदरमुकाम मलङ्गवामा बिहिबार बेवारिसे अवस्थामा भेटिएको पेस्तोल खेलाउने क्रममा गोली लागेर एक बालक घाइते भएका छन् । मलङ्गवा नगरपालिका ४ का रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम घाईते भएका हुन् ।

मलङ्गवा ४ स्थित ‘ढाकाबोर्डर’ इलाकामा रहेको निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा पेस्तोल फेला परेको थियो ।

सो पेस्तोल नक्कली होला भनी चलाउने क्रममा एक्कासि गोली चल्दा बालकको दाहिने हातको पञ्जामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

घाइते बालकको हाल प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको र उनको अवस्था अहिले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गत आइतबार (फागुन ३ गते) राति मलङ्गवामै अज्ञात समूहको गोली प्रहारबाट सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो । उक्त हत्यामा प्रयोग गरिएको हतियार नै मन्दिरमा लुकाएर राखिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्