रौतहटको सबगढामा दुई समुदायबीच झडप, स्थिति तनावग्रस्त

रौतहटः रौतहटको सदरमुकाम गौर नगरपालिका ६ स्थित सबगढा गाउँमा बिहीबार राति दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
हिन्दू समुदायको विवाहमा बाजा (डीजे) बजाउँदै गएको जन्तीले स्थानीय मस्जिदमा नवाज पढिरहेको समयमा बाधा पुर्याएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
स्रोतका अनुसार राति सोही विषयलाई लिएर मुस्लिम समुदायका केही व्यक्तिले डीजे समूहका सदस्यहरूमाथि कुटपिट गरेपछि उत्पन्न विवादले शुक्रबार बिहान उग्र रूप लिएको हो । दुवै पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीसहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् ।
अवस्थालाई सामान्य तुल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुई सय ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीय प्रशासनले सबैलाई शान्ति र संयमता अपनाउन अपिल गर्दै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।





