रौतहटमा बस दुर्घटना, यात्रुहरू सुरक्षित


eShilalekh

८ फाल्गुन २०८२, शुक्रबार १३:३९

रौतहटः रौतहटको सदरमुकाम गौर नगरपालिकास्थित पावर हाउस नजिकै शुक्रबार एक यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

गौरबाट चन्द्रपुरतर्फ आउँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको हो ।

दुर्घटनाका कारण बसको अगाडिको भाग र बिजुलीको पोलमा पूर्ण रूपमा क्षति पुगेको छ । दुर्घटना लगतै नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन् । बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेको र केहीलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

पोल ढलेपछि बसमाथि बिजुलीको तार खसेर हुनसक्ने ठुलो जोखिमलाई मध्यनजर गर्दै तत्काल उक्त क्षेत्रको विद्युत् आपूर्ति बन्द गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बस तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत कारणबारे प्रहरीले थप छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्