मालपोत कार्यालय पर्साका चार अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट संकलन भएको दुई करोड ९३ लाख ६८ हजार पाँच सय ६५ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
सरकारी ढुकुटीमा जम्मा गर्नुपर्ने रकम आपसी मिलेमतोमा भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अख्तियारले तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीलाई मुख्य आरोपी बनाएको छ।
बिगो दाबीका क्रममा अख्तियारले भूपबहादुर बोगटीसँग एक करोड १० लाख ६० हजार ५२४ रुपैयाँ, सुरेन्द्रप्रसाद राव कुर्मीसँग ९९ लाख १० हजार ५२५ रुपैयाँ, हरिनारायण मिश्रसँग ३८ लाख ८० हजार ३६८ रुपैयाँ र पदमप्रसाद अर्यालसँग २१ लाख ३८ हजार १६९ रुपैयाँ माग गरेको छ।
यसैगरी उक्त प्रकरणमा संलग्न तत्कालीन नायव सुब्बा स्व. किरणप्रसाद उपाध्यायको मृत्यु भइसकेकाले उनको भागको बिगो असुल गर्न उनका चार छोराहरूलाई पनि प्रतिवादी बनाइएको छ। निज मृतक सुब्बाका छोराहरूबाट कुल बिगो रकम दुई करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ असुल उपर गर्नुपर्ने दाबी अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ।





