लोककल्याणकारी विज्ञापनको बजेट नकाट्न नेपाल पत्रकार महासंघको माग

जनकपुरधामः नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले लोककल्याणकारी विज्ञापनको बजेट कटौती नगर्न प्रदेश सरकारसँग माग गरेको छ । महासंघका प्रदेश अध्यक्ष श्याम बन्जाराले मंगलबार प्रदेशका अर्थमन्त्री युवराज भट्टराई (समीर) लाई ज्ञापनपत्र बुझाउँदै विनियोजित बजेट यथावत् राख्न आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा लोकतन्त्र र परिवर्तनका आन्दोलनमा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै बञ्जाराले पछिल्लो समय मिडिया क्षेत्र ठूलो आर्थिक संकटबाट गुजरिरहेको उल्लेख गरेका छन् । विज्ञापन घट्दै जाँदा धेरै पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरू बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा पुगेको व्यहोरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको आमसञ्चार प्राधिकरणमार्फत लोककल्याणकारी विज्ञापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर सरकारले वित्तीय समायोजनका नाममा ५० प्रतिशत बजेट रोक्का गरेपछि अहिले ३५ लाख रुपैयाँ मात्र बाँकी रहेको छ । महासंघले उक्त रकम अत्यन्तै कम भएको उल्लेख गर्दै यथावत राख्न आग्रह गरेको छ ।
महासंघले मिडिया काउन्सिल तथा आमसञ्चार प्राधिकरणलाई थप प्रभावकारी बनाउन र आवश्यक परे थप बजेटको व्यवस्था गर्न समेत प्रदेश सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा केन्द्रीय सदस्य राजेश कर्ण, प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्ति, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अवधेश कामत, आमसञ्चार प्राधिकरणकी सदस्य ज्योती झालगायत उपस्थित थिए ।







