दुई किशोरीको शव एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा फेला


eShilalekh

१९ चैत्र २०८२, बिहीबार १४:३०

सर्लाहीः सर्लाहीको गोडैता नगरपालिका ५ रामवनमा दुई किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । सर्लाहीको रामनगर गाउँपालिका ६ का विनोद दासकी १७ वर्षीया छोरी संगीता दास र सोही स्थानका ईन्द्रजित दासकी १८ वर्षीया छोरी नागिना दासको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

उनिहरुको शव रामवनस्थित आँपको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा भेटिएको सर्लाहीका प्रवक्ता एवंम् डिएसपी सरोज राईले जनाएका छन् ।

घटनाबारे बुधबार साँझ करिब ६ बजेतिर सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरी नायब निरीक्षक पदमबहादुर खड्काको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक बिन्देश्वरप्रसाद यादवको नेतृत्वमा फरेन्सिक टोलीसहित १० जना प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुवै जनाले झुण्डिएर ज्यान गुमाएको देखाए पनि घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन । दुई किशोरीले एकैसाथ किन यस्तो कदम चाले वा यसमा अन्य कुनै पक्षको संलग्नता छ भन्नेबारे प्रहरीले गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्