जीतपुरसिमरा नगर अस्पतालमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण सेवा सुरु


eShilalekh

१९ चैत्र २०८२, बिहीबार १६:३२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको जीतपुरसिमरा नगर अस्पतालले पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क स्क्रिनिङ सेवा सुरु गरेको छ ।

महिलाहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै क्यान्सरको जोखिम बढ्दै गएकाले प्रारम्भिक चरणमै रोग पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले सेवा सुरु गरेको हो ।

अस्पतालका अनुसार यो सेवा प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपलब्ध हुनेछ । विशेषगरी ३० वर्षभन्दा माथिका महिलाहरूलाई लक्षित गरिएको यो सेवा पूर्ण रूपमा निःशुल्क छ ।

परीक्षणका लागि कुनै पनि अग्रिम अपोइन्टमेन्ट लिनु नपर्ने र तोकिएको समयमा अस्पताल पुगेर सहजै सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार सरल र प्रभावकारी ‘भीआईए’ विधिबाट गरिने यो स्क्रिनिङले क्यान्सरको लक्षण देखिनुअघि नै जोखिम पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

यो पहलले विशेषगरी ग्रामीण तथा विपन्न वर्गका महिलाहरूका लागि स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ । अस्पतालले परीक्षणपश्चात् आवश्यक देखिएमा थप उपचार, परामर्श र थप परीक्षणका सेवासमेत उपलब्ध गराउने स्पष्ट पारेको छ ।

अस्पताल प्रशासनले लक्षित उमेर समूहका सबै महिलाहरूलाई ढिला नगरी यो सेवाको लाभ लिन र आफ्नो स्वास्थ्यप्रति सचेत रहन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्