पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

सिमराः नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गतेदेखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको हो ।
नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८४ रुपैयाँ रहेकामा अब एक सय ९९ रुपैयाँ ५० पैसा पुगेको छ । डिजल/मट्टीतेलको मूल्य यसअघि प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर एक सय ७९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८६ रुपैयाँ रहेकामा अहिले बढेर दुई सय एक रुपैयाँ पुगेको छ । यस्तै त्यहाँ डिजल/मट्टीतेलको मूल्य पहिले प्रतिलिटर एक सय ६६ रुपैयाँ रहेकामा अब बढेर एक सय ८१ रुपैयाँ पुगेको छ ।
यसेगरी तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर दुई सय दुई रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८७ रुपैयाँ थियो । यसैगरी डिजल र मट्टीतेलको मूल्य एक सय ६७ रुपैयाँ लिटर रहेकामा अब एक सय ८२ रुपैयाँ पुगेको छ ।
आयल निगमले यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाएको छ ।






