जीतपुर क्षेत्रको ६ लेन राजमार्ग आसपासका फुटपाथ शनिबारसम्म खाली गर्न निर्देशन

जीतपुरः बाराको जीतपुर क्षेत्रमा रहेको ६ लेन राजमार्ग आसपासको फुटपाथ अतिक्रमण हटाउने प्रक्रियालाई जीतपुरसिमरा उपमहानगरपालिकाले तीव्रता दिएको छ ।
उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकपछि नगर प्रमुख राजन पौडेलले राजमार्गको सौन्दर्य अभिवृद्धि, सवारी आवागमनमा सहजता र पैदलयात्रीको सुरक्षाका लागि अतिक्रमण नियन्त्रणलाई कडाइका साथ अघि बढाइने बताएका छन् ।
सडक छेकेर व्यवसाय सञ्चालन गर्दा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि नगरपालिकाले यो कदम चालेको हो ।
उपमहानगरपालिकाले आउँदो शनिबारसम्मको समयसीमा तोक्दै सडक र फुटपाथमा रहेका संरचना र पसलहरू हटाउन निर्देशन दिएको छ । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरिएकाले आगामी चैत २२ गतेदेखि बलपूर्वक अतिक्रमण हटाइने र अटेर गर्ने व्यवसायीलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
यद्यपि विस्थापित हुने साना व्यवसायीहरूलाई व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने विकल्पका बारेमा पनि छलफल भइरहेको छ । स्थानीय बासिन्दाले यो निर्णयको स्वागत गर्दै यसबाट बजार क्षेत्र थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा व्यक्त गरेका छन् ।





