पोखरिया मालपोत कार्यालयबाट तीन बिचौलिया पक्राउ

सिमराः पर्साको पोखरियास्थित मालपोत कार्यालय परिसरबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको विशेष टोलीले शुक्रबार कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीलाई हैरान गर्ने र कामकाजमा बाधा पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको नाम भने प्रहरीले हाललाई गोप्य राखेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार कार्यालयभित्र अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राही तथा कर्मचारीहरूलाई अनावश्यक दबाब दिने र काममा अवरोध गर्ने गरेको व्यापक गुनासो आएपछि यो कदम चालिएको हो।
पक्राउ परेकाहरूले आफूहरू ‘लेखापढी व्यवसायी’ भएको दाबी गरे पनि उनीहरूको आधिकारिकता र गतिविधिका बारेमा प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ। नियन्त्रणमा लिइएका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालयमा राखेर थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।





