पर्साको बिरुवागुठीमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

वीरगन्जः पर्साको पर्सागढी नगरपालिका ३ बडनिहार बिरुवागुठीस्थित गौरे कटेज खाजा पसलबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी ३ का ५७ वर्षीय वीरेन्द्र साह, वडा नं. ४ का ४० वर्षीय सुरेन्द्र चौधरी, वडा नं.३ का ३८ वर्षीया दिलमाया तामाङ, ३१ वर्षीय शीशीर तामाङ तथा वीरगन्ज महानगरपालिका ३१ का २७ वर्षीय अरविन्द गौरो रहेका छन् ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले सोमबार दिलमाया तामाङले सञ्चालन गरेको खाजा पसलबाट जुवातास खेल्दै र खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट तीन सेट तास र १५ हजार ५५ रुपैयाँ नगद बरामद गरिएको छ ।
पक्राउ परेकामाथि सार्वजनिक शान्ति विरुद्धको कसूर (जुवा खेल्न नहुने सम्बन्धी दफा १२५) अन्तर्गत आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।





