जीतपुरसिमराका सामुदायिक विद्यालयको नतिजा ‘लज्जास्पद’

सिमराः आधारभूत तह (कक्षा ८) को परीक्षामा जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयले लज्जास्पद नतिजा ल्याएका छन् । उपमहानगरपालिकाको कार्यालयले बिहीबार सार्वजनिक गरेको विद्यालयगत परिणाममा २९ मध्ये २५ विद्यालयको नतिजा लज्जास्पद छ ।
नतिजाअनुसार ग्रेड प्राप्त गर्ने विद्यार्थी संख्यामा चार वटा विद्यालयको नतिजा शून्य छ । थानी आधारभूत विद्यालय बिरेदमार, आदर्श आधारभूत विद्यालय नहरक्याम्प, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र नेपाल राष्ट्रिय मौवादेवी माध्यमिक विद्यालयका सबै विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन् ।
यी बाहेक अन्य विद्यालयको नतिजा पनि निकै कमजोर छ । ११ वटा विद्यालयले १० प्रतिशत नतिजा समेत कटाउन सकेका छैनन् । चार विद्यालयको नतिजा १० देखि १६ प्रतिशतको बीचमै छ । २५ विद्यालयले ५० प्रतिशत नतिजा कटाएका छैनन् भने चार वटा विद्यालयले मात्रै ५० प्रतिशतभन्दा बढी नतिजा प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरले २.६ प्रतिशत, नेपाल राष्ट्रिय आधारभूत विद्यालय चकरीले ३ प्रतिशत, नेपाल राष्ट्रिय आधारभूत विद्यालय कञ्चनपुरले ४ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय टांगियाबस्तीले ४.९ प्रतिशत, जनता माध्यमिक विद्यालय रजघट्टाले ६.३ प्रतिशत, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाले ७.४ प्रतिशत र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नगौलले ९.५ प्रतिशत नतिजा ल्याएको छ ।
यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय नरबस्तीले १० प्रतिशत, नेपाल माध्यमिक विद्यालय अमलेखगञ्जले १३.६, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहले १५.२ र नेपाल राष्ट्रिय आधारभूत विद्यालय खैर्वाले १४.३ प्रतिशत नतिजा ल्याएका छन् ।
सबैभन्दा बढी १२८ जना विद्यार्थी संख्या रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको नतिजा ३२ प्रतिशत, ९५ जना विद्यार्थी रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको नतिजा २३.२ प्रतिशत, ९५ जना विद्यार्थी रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाको नतिजा २२.१ प्रतिशत छ ।
सिमराको १२८ विद्यार्थीमध्ये ८७ जना विद्यार्थीले ग्रेड प्राप्त गरेनन् । ८७ मध्ये ५४ जनाले ग्रेड वृद्धिका लागि पुनः परीक्षा दिनेछन् । जीतपुरको ९५ मध्ये ७३ जनाले ग्रेड प्राप्त गरेनन् । ७३ मध्ये ४९ जनाले ग्रेड वृद्धिको परीक्षा दिनेछन् ।
नतिजाअनुसार ग्रेड प्राप्त नगरेका सामुदायिक विद्यालयका आठ सय ४५ परिक्षार्थीमध्ये तीन सय ९५ जनाले मात्रै ग्रेड प्राप्तिका लागि पुनः परीक्षा दिन पाउनेछन् भने चार सय ५० जना विद्यार्थीले ग्रेड वृद्धिको परीक्षा दिन पाउदैनन् । दुई वटा विषयसम्म ग्रेड प्राप्त नगरेका विद्यार्थीले पुनः ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने व्यवस्था रहेको उपमहानगरपालिकाको शिक्षा शाखाका अधिकृत हरिश भट्टले इशिलालेखलाई जानकारी दिए ।
भट्टले दिएको जानकारी अनुसार दुई वटा भन्दा बढी विषयमा ग्रेड प्राप्त नगरेका चार सय ५० विद्यार्थी पुनः कक्षा आठमा भर्ना हुनेछन् ।
यी विद्यालयले कटाए ७० प्रतिशत नतिजा
उपमहानगरपालिकाभित्रको २९ सामुदायिक विद्यालयमध्ये तीन वटा विद्यालयले ७० प्रतिशत भन्दा बढी नतिजा ल्याउदा एउटा विद्यालयले ५० प्रतिशत नतिजा कटाएको छ ।
नतिजामा जीतपुरसिमरा १६ स्थित जन जागृति माध्यमिक विद्यालय सखुवाघाट सबैभन्दा अगाडि देखिएको छ । जनजागृतिले ७३.७ प्रतिशत नतिजा ल्याएको छ । उक्त विद्यालयका ३८ विद्यार्थीमध्ये २८ जना उतिर्ण भएका छन् । ग्रेड प्राप्त नगरेका १० मध्ये आठ जनाले पुनः ग्रेड वृद्धिको परीक्षा दिने पाउनेछन् ।
यसैगरी जन कल्याण आधारभूत विद्यालयको नजिता पनि ७२.७ प्रतिशत छ । उक्त विद्यालयको ११ जना परिक्षार्थीमध्ये आठ जनाले ग्रेड प्राप्त गरेका छन् । ग्रेड प्राप्त नगरेका तीन जना विद्यार्थीले पुनः ग्रेड वृद्धिको परीक्षा दिनेछन् ।
सात परिक्षार्थी रहेको हंशबाहिनी आधारभूत विद्यालय पिपरियाको नतिजा ७१.४ प्रतिशत छ । सातमध्ये पाँच जनाले ग्रेड प्राप्त गर्दा दुई परिक्षार्थीले ग्रेड प्राप्त गरेनन् । तर दुवै जनाले ग्रेड वृद्धिको परीक्षा दिने पाउनेछन् ।
नितनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको नतिजा ५२.४ प्रतिशत छ । उक्त विद्यालयका २१ परिक्षार्थीमध्ये ११ जनाले ग्रेड प्राप्त गरे । ग्रेड प्राप्त नगरेका १० मध्ये सात जनाले पुनः ग्रेड वद्धिको परीक्षा दिनेछन् ।







