कमला नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव फेला


eShilalekh

२९ चैत्र २०८२, आईतवार १५:२१

जनकपुरः धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीमा डुबेर शनिबारदेखि बेपत्ता भएका एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ६ का १८ वर्षीय महम्मद आयन कमडको शव आइतबार बिहान फेला परेको हो ।

साथीहरूसँग पिकनिक मनाउन गणेशमान चारनाथ नगरपालिका ५ स्थित टोडकीटोल पुगेका कमड कमला नदीमा पौडी खेल्ने क्रममा अचानक बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएका गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले उनको खोजी कार्य सुरु गरेको थियो ।

शनिबारदेखि जारी खोजी प्रयासपछि आइतबार बिहान करिब १० बजे उनको शव फेला परेको हो । शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

घटनाकारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्