पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र वितरणको व्यवस्था सुरु

वीरगन्जः जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबारदेखि नयाँ नागरिकता प्राप्त गर्नासाथ राष्ट्रिय परिचयपत्रका लागि आवश्यक पर्ने ‘बायोमेट्रिक’ विवरण संकलन गर्ने नयाँ व्यवस्थाको सुरु गरेको छ ।
पर्सा जिल्लाका सेवाग्राहीलाई अब नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि पटक–पटक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।
यसअघि नागरिकता लिएपछि राष्ट्रिय परिचयपत्र बनाउन पुनः नयाँ प्रक्रिया र लाइनमा बस्नुपर्ने झन्झट रहेको थियो । अब सेवाग्राहीले नागरिकता पाउन साथ सोही स्थानबाट परिचयपत्रको प्रक्रिया पूरा गर्न पाउनेछन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार नयाँ नागरिकता लिने सेवाग्राहीका लागि छुट्टै स्टेशन थप गरी यो सेवा सुचारु गरिएको हो । पर्सामा दैनिक औसत ५० देखि ६० जनाले नयाँ नागरिकता लिने गरेका छन् । जसलाई लक्षित गरी प्रशासनले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
हाललाई यो व्यवस्था नयाँ नागरिकता लिनेहरूका लागि मात्र लागू भए पनि प्रतिलिपि नागरिकता लिनेहरूको हकमा केही समयपछि मात्र यो सेवा सुरु गरिने कार्यालयले जनाएको छ ।





