मधेसमा ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन प्रक्रिया सुरु


eShilalekh

३ बैशाख २०८३, बिहीबार २०:२६

सिमरा: मधेस प्रदेशमा ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने सवारी चालकविरुद्ध कडा कदम चाल्दै चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ। बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिहीबारदेखि यो अभियान सुरु गरेको हो।

कार्यालयका अनुसार पहिलो चरणमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने आठ जना चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था कार्यालय वीरगन्जलाई सिफारिस गरिएको छ। ती चालकहरू ट्राफिक नियम उल्लंघन अभिलेख प्रणाली (टीभीआरएस) मार्फत पहिचान गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंहका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० बमोजिम यस्तो कारबाही गर्न सकिने व्यवस्था रहेको छ। ऐन अनुसार पाँच पटकभन्दा बढी नियम उल्लंघन प्रमाणित भएमा सम्बन्धित अधिकारीले चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्न सक्छ ।

मधेस प्रदेशमा पहिलो पटक यस्तो प्रक्रिया सुरु गरिएको हो। ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्र बस्नेतले यस कदमले चालकहरूलाई जिम्मेवार र जवाफदेही बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार पटकपटक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा ल्याउन यसले प्रभावकारी भूमिका खेल्नेछ र जसबाट सडक दुर्घटना तथा जनधनको क्षति न्युनिकरण हुने अपेक्षा गरिएको छ ।

बस्नेतले प्रदेशका आठवटै जिल्लामा टीभीआरएस प्रणालीमार्फत नियम उल्लंघन गर्ने चालकको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको इशिलालेखलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्