महोत्तरीमा रुख ढलेर च्याप्दा दुई जनाको मृत्यु


eShilalekh

५ बैशाख २०८३, शनिबार २१:२९

जलेश्वरः महोत्तरीको जलेश्वरमा शनिबार रुख ढलेर टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । रुखमुनि परेर धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० निवासी ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका ३ निवासी ३३ वर्षीय राहुल मलिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वरस्थित प्रकौली आर्मी क्याम्प अगाडि सडक छेउको रुख ढल्दा गुडिरहेको ज१ह ४८५० नम्बरको टेम्पो च्यापिएको थियो । दुर्घटनामा घाइते भएका तीन जनालाई नेपाली सेनाले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

घाइते हुनेहरूमा टेम्पु चालक जलेश्वर नगरपालिका ११ निवासी ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा गाउँपालिका ३ निवासी फेकनीदेवी मलिक, जनकपुरधाम १२ निवासी १७ वर्षीय धिरज मलिक र १४ वर्षीया रिया पण्डित रहेका छन्। उनीहरूमध्ये एक जनाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्