वीरगन्जमा चल्यो डोजर, १२०० घर भत्कँदै

वीरगन्ज: लामो समयदेखि कानुनी र प्राविधिक कारणले रोकिँदै आएको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानैदेखि सुरु भएको छ । बिहान एकसाथ पाँच स्थानबाट डोजर चलाउँदै घर भत्काउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयले शनिबार अपरान्ह सूचना जारी गर्दै आइतबार बिहान ४ः३० बजेभन्दा अगाडि गण्डकदेखि मितेरी पुलसम्मको सडक क्षेत्रभित्र पर्ने घरटहरा खाली गर्न निर्देशन गरेको थियो । प्रशासनले पर्याप्त समय नदिएको भन्दै स्थानीयस्तरमा चर्को विरोध भईरहेको अवस्थामा सडक डिभिजन कार्यालयले राजमार्गको २५ मिटर दायाँबायाँ भित्र निर्माण भएका संरचनामाथि डोजर लगाएको हो ।
घडा सुरक्षा घेराबीच बिहानदेखि डोजरले घर भत्काईरहेको छ । केही स्थानमा स्थानीयको सामान्य अवरोध पनि भईरहे पनि प्रहरीले हस्तक्षेप गरेर काममा अवरोध गर्न दिएको छैन । डोजर चल्न थालेपछि केही स्थानीयले आफै घर भत्काउन समेत सुरु गरेका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयले संरचना तत्काल खाली गर्न सूचना जारी गरेपछि शनिबार रातिनै वीरगन्जका ब्यापारीले सेल लगाएर कपडा बेचेका थिए । सेल लगाइएपछि घण्टाघरदेखि आदर्शनगरका पसलमा रातिसम्म स्थानीयको बाक्लो भिड् लागेको थियो । व्यापारीले रातारात सटर खाली गरेपछि सडक डिभिजनले बिहानैदेखि डोजर लगाएर घर भत्काउन सुरु गरेको हो ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँबायाँ २५/२५ मिटर चौडा पारिनेछ । यस आयोजनाले सडक व्यवस्थित र फराकिलो बनाउन सहयोग पुग्नेछ ।
के थियो कानुनी अड्चन?
वीरगन्जको मुख्य सडक विस्तारको विषय विगत १३ वर्षदेखि विवाद र अन्योलको घेरामा थियो। स्थानीय जग्गाधनीहरूले दायर गरेको रिट निवेदनका कारण आयोजनाले कानुनी जटिलता भोग्दै आएको थियो।
सर्वोच्च अदालतले २०८१ फागुन २८ गते घरजग्गाधनीहरूको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला सुनाएपछि कानुनी अड्चन हटेको थियो। तर फैसलाको पूर्णपाठ एक वर्षपछि अर्थात् २०८२ फागुन २४ गते मात्र सार्वजनिक हुनु र त्यसपछि फैसला कार्यान्वयन महाशाखाबाट आधिकारिक पत्र प्राप्त हुन ढिलाइ हुँदा काम सुरु हुन सकेको थिएन। हाल कानुनी प्रक्रिया पूरा भएसँगै सडक विभागले कार्य थालनी गरेको हो।
सडक विस्तारको क्रममा २५/२५ मिटरको दायराभित्र रहेका २९ वटा सरकारी कार्यालयका भवन र करिब एक हजार दुई सय वटा निजी घरहरू भत्काइने छ ।





