पत्रकार आचारसंहिता उल्लंघन नगर्न पत्रकार महासंघ पर्साको आग्रह


eShilalekh

६ बैशाख २०८३, आईतवार १५:२६

वीरगन्जः नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन गर्ने सञ्चारमाध्यम र व्यक्तिहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघ पर्साले जिल्लाबाट सञ्चालित केही सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषणका क्रममा न्यूनतम मानवीय संवेदना र आचारसंहितालाई समेत लत्याएको भन्दै त्यसो नगर्न अनुरोध गरेको छ ।

विशेषगरी सामाजिक सञ्जाल (फेसबुक र युट्युब) मार्फत सञ्चालित केही माध्यमहरूले सामाजिक सद्भाव, जबरजस्ती करणी र व्यक्तिको गोपनीयता जस्ता अत्यन्तै संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गैरजिम्मेवार बनरिहेको महासंघका सचिव विजयकुमार महतोले विज्ञप्तिमा उल्लेख गरेका छन् । समाचार संकलन र प्रसारणका क्रममा ती माध्यमहरूले न्यूनतम शिष्टाचार र सीमासमेत पालना नगरी अभद्र हर्कत देखाएको महासंघको ठहर छ ।

सचिव महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘महासंघकाले ती संस्था र व्यक्तिहरूलाई यसअघि पनि पटक-पटक ध्यानाकर्षण गराएको स्मरण गराउँदै पत्रकार आचारसंहिताविपरीतका गतिविधि तत्काल रोक्न आग्रह गर्दछौं ।’ यस्ता क्रियाकलापले गर्दा मर्यादित पत्रकारिता र समग्र सञ्चारक्षेत्रमाथि नै प्रश्न उठ्न थालेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

अबका दिनमा आचारसंहिता विपरीतका समाचार सम्प्रेषण गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने महासंघले प्रष्ट पारेको छ । आचारसंहिता पुनः उल्लंघन भएको पाइएमा महासंघ आफैंले कारबाहीका लागि कानुनी एवम् प्रक्रियागत पहल गर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्