पथलैया–चुरियामाई सडक विस्तार हुने, १० गतेभित्र संरचना हटाउन सूचना


eShilalekh

८ बैशाख २०८३, मंगलवार १४:२२

सिमराः वीरगन्जमा सडक विस्तार गरेसँगै हटौंडास्थित सडक डिभिजन कार्यालयले पथलैया–चुरियामाई सडकखण्डमा पनि सडक फराकिलो पार्ने तयारी गरेको छ । उक्त कार्यका लागि कार्यालयले महेन्द्र राजमार्ग अन्तर्गत पथलैयादेखि चुरियामाईसम्मको सडकखण्डको दायाँबायाँ २५ मिटर क्षेत्र खाली गर्न सूचना जारी गरेको छ ।

कार्यालयले यसअघि पटक-पटक सूचना जारी गरिए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै बैशाख १० गतेभित्र खाली गर्न अर्को सूचना जारी गरेको हो । उक्त समयसीमा भित्र सडक क्षेत्र खाली नभए वीरगन्जमा जस्तै डोजर चलाउने संकेत सडक डिभिजन कार्यालयले गरेको छ ।

सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा अनधिकृत संरचनाहरू नहटाइएमा सार्वजनिक सडक ऐन २०३१ र प्रचलित नेपाल कानुन बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।

सडक डिभिजनको सूचनासँगै अमलेखगञ्ज, तीन नम्बर र चुरियामाईमा २५ मिटर दायाँबायाँको क्षेत्र खाली हुने देखिएको छ । उक्त सडक खाली भएपछि पथलैया–हेटौंडा सडकखण्डमा सडक निर्माणको काम अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्