वीरगन्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ अर्ब राजस्व सङ्कलन


eShilalekh

८ बैशाख २०८३, मंगलवार १५:०४

वीरगन्जः वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ अर्ब २० करोड रुपैयाँ अर्थात् १० प्रतिशतले बढी राजस्व सङ्कलन गरेको हो। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भन्सार विभागले नौ महिनाका लागि निर्धारण गरेको एक खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको लक्ष्यमध्ये ८९ प्रतिशत प्रगति हासिल भएको छ ।

महिनागत विवरण अनुसार कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्र्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसैगरी पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा सबैभन्दा बढी २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

भन्सार विभागले वीरगन्ज भन्सारलाई चालु आर्थिक वर्षका लागि कुल दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको छ ।

नौ महिनाको अवधिमा वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्र सङ्कलन भए तापनि आर्थिक वर्ष सकिन अझै तीन महिना बाँकी रहेकाले राजस्व सङ्कलनमा थप सुधार हुने र लक्ष्यको नजिक पुग्ने सम्भावना कायमै रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्