बाराको हरपुरमा बृहत् धार्मिक सभा ‘तब्लिगी इज्तिमा’ आयोजना हुने, सुरक्षा निकायद्वारा निगरानी तीव्र

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका २४ हरपुरमा बृहत् धार्मिक सभा ‘तब्लिगी इज्तिमा’ आयोजना हुने भएको छ । उक्त सभा वैशाख ११ गते अपराह्न २ः०० बजेदेखि सुरु भई आगामी सोमबार बिहान १०ः०० बजेसम्म सञ्चालन हुनेछ ।
यस कार्यक्रममा नेपाल र भारत अतिरिक्त पाकिस्तान र बङ्गलादेशबाट समेत सहभागीहरू आउने सम्भावना रहेकाले सुरक्षा निकायले सतर्कता बढाएको छ । मधेस प्रदेशका विभिन्न जिल्लामा धार्मिक गतिविधिहरूको विस्तारसँगै वैदेशिक सहभागिता रहने यस्ता कार्यक्रमले राष्ट्रिय सुरक्षा र सामाजिक सद्भावमा चुनौती थप्न सक्ने भन्दै निगरानी कडा पारिएको हो ।
सुरक्षा स्रोतका अनुसार बङ्गलादेश र पाकिस्तानबाट साना समूहमा आउने तब्लिगी जमातका सदस्यहरू धार्मिक प्रचार–प्रसारमा संलग्न हुने गरेका छन् । यसैबीच विश्व हिन्दु परिषद् नेपालले बारा र पर्साका जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विदेशीहरूको अवैध प्रवेश र कार्यक्रमपछि पनि नेपालमै लुकिछिपी बस्न सक्ने जोखिमप्रति चिन्ता व्यक्त गरेको छ ।
खुला सीमा प्रणालीका कारण हुन सक्ने अवैध आवतजावत र सम्भावित घुसपैठ रोक्न सीमा क्षेत्रमा सुरक्षा निगरानी तीव्र पारिएको छ । सुरक्षा निकायले कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक तयारी भइरहेको र कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना लागू गरिएको जनाएको छ ।
प्रशासनले सीमाको संवेदनशीलता बुझ्दै साम्प्रदायिक सद्भाव कायम राख्न र विदेशी नागरिकहरूको गतिविधि नियन्त्रण गर्न विशेष कदम चाल्ने तयारी गरेको छ ।





