पथलैया ट्राफिकद्धारा ओभरलोडमा कडाई, एकैदिनमा ६ गाडी कारवाहीमा


eShilalekh

१० बैशाख २०८३, बिहीबार १९:३२

सिमराः बाराको पथलैयास्थित नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले क्षमताभन्दा बढी भारबहन (ओभरलोड) गर्ने मालबाहक सवारीसाधनमाथि कडाई गरेको छ । भारबहन नियमन सम्बन्धी निर्देशिका २०७४ ले तोकेको भन्दा बढी सामान ढुवानी गरेका मालबाहक सवारीसाधनमाथि कार्यालयले कडाई गरेको हो ।

कार्यालयले बुधबार र बिहीबार दुई दिनमा ६ वटा गाडीलाई कारवाही गरेको । उक्त कारवाहीबाट एक लाख ४५ हजार राजश्व असुली गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वकिलबहादुर सिंह जानकारी दिए ।

सिंहले यसअघि कार्यालयबाटै न्युनतम जरिवाना गरि पठाउने गरिएको भएपनि यसपटक त्यस्ता सबै सवारी साधनलाई वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयमा पठाएको बताए । ट्राफिक कार्यालयले पठाएको त्यस्ता सवारी साधनबाट यातायात व्यवस्था कार्यालयले तोकिएअनुसारको जरिवाना असुल गरेको हो ।

कार्यालयका प्रवक्ता सिंहले क्षमता भन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई कारवाहीको दायरामा ल्याउन मधेश प्रदेश अन्तर्गतको मातहतका कार्यालयलाई समेत निर्देशन दिएका छन् । भारबहन नियमन सम्बन्धी निर्देशिका २०७४ अनुरुप सामान ढुवानी गर्नगराउनका लागि चालकहरुलाई सचेत गराउन र अटेर गरेका सवारी साधनलाई कारवाहीका लागि पठाउन सिंहले निर्देशन दिएका हुन् ।

कार्यालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म क्षमता भन्दा बढी सामान बोक्ने दुई सय ६५ सवारीसाधनलाई कारवाहीका लागि यातायात कार्यालयमा सिफारिस गरेको छ । जसबाट ४० लाख ५९ हजार ९ सय ६१ रुपैयाँ राजश्व असुली भएको प्रवक्ता सिंहले जानकारी दिए ।

यसैगरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ८० हजार ८२ सवारी साधनबाट सात करोड ९२ लाख ५५ हजार ५८ रुपैयाँ राजश्ज असुली गर्न सफल भएको छ ।

सिंहका अनुसार चालु आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार दुई सय ४५ चालकलाई कारवाही गरिएको छ । उक्त कारवाहीबाट १६ लाख ७६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

कार्यालय र मातहतका जिल्लाले चैत मसान्तसम्म १६ हजार चार सय ३९ वटा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको र सो कार्यक्रमबाट सात लाख ६२ हजार पाँच सय ४४ जना लाभान्वित भएका छन् ।

यता चालु आर्थिक वर्षमा मधेश प्रदेशभित्र ६ हजार आठ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा तीन सय ९८ जनाको मृत्यु र ९ हजार सात सय ३८ जना घाइते भएका छन् ।

मदिरा सेवन गर्ने र तिव्र गतिमा सवारी चलाउने प्रवृतिका कारण दुर्घटना भईरहेको र मानविय क्षति भएको प्रवक्ता सिंहको भनाई छ । सिंहले कार्ययोजना अनुसार तिव्र गति नियन्त्रण र मापसे जाँचतथा कारवाहीलाई कडाईका साथ लागू गर्न निर्देशन दिएका छन् ।

कार्यालयले पाँचपटक भन्दा बढी ट्राफिक नियम उलंघन गरि कारवाहीमा परेका १५ चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगन्जलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्