रौतहटको पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

रौतहटः रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । दुर्गा भगवती ३ पिपराटोलका ५ वर्षीय कृष साह कलवारको पोखरीमा डुबेर मृत्यु भएको हो ।
आइतबार साँझ करिब ६ बजे घरबाट १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा बालक बेपत्ता भएका थिए । नुहाउने क्रममा बालक डुबेको आशंकामा इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले खोजी गरी उनलाई फेला पारेको थियो ।
उद्धारलगत्तै बालकलाई उपचारका लागि बागमती सेन्ट्रल अस्पताल पुर्याइए पनि चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए । हाल मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।





