पर्सामा २५ वर्ष कैद सजाय पाएका फरार अपराधी पक्राउ


eShilalekh

१४ बैशाख २०८३, सोमबार १४:४७

वीरगन्जः पर्सा प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

भारतको बिहार घर भएका ३० वर्षीय विकाश शर्मालाई प्रहरीले आइतबार वीरगन्ज महानगरपालिका २४ रामगढवा क्षेत्रबाट पक्राउ गरेको हो । अदालतले शर्मालाई अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रहरीका अनुसार शर्मा २०८२ साल भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको अन्योलपूर्ण स्थितिको फाइदा उठाउँदै केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका शर्मालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको छ । साथै प्रहरीले फरार अपराधीहरूविरुद्धको खोजी अभियानलाई थप सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्