सप्तरीमा कार्यरत बाराका सशस्त्र प्रहरी हवल्दारको निधन

सप्तरीः सप्तरीको बोदेबर्साईन नगरपालिका ५ स्थित सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दारको निधन भएको छ । बाराको पचरौता नगरपालिका ८ स्थायी घर भएका जितेन्द्र कुमार यादवको निधन भएको हो ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार सोमबार राति करिब ३ बजे शौचालय जाने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए । घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सशस्त्र प्रहरी बल नं. ६ गण सप्तरीका प्रमुख रोशन बुढाथोकीका अनुसार मृतक यादवमा पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको बुझिएको छ ।
मृत्युको वास्तविक कारण र घटनाको थप विवरणबारे सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।





